जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १३:४०

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सारियो


काठमाडौं, साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको छ ।

यसअघि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो । तर, आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सारिएको स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत जाने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन् । यसअघि उनको मानसरोवर भ्रमण निश्चित भएको थिएन ।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतले जनाएको छ ।

यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर फर्किएका लामिछानेले चीन भ्रमणमा पनि त्यस्तै उच्चस्तरीय भेटवार्ताको प्रबन्ध मिलाउने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।