जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १७:४३

यस्तो छ देउवा समूहको राष्ट्रिय सम्मेलनले पारित गरेको ५ बुँदा


काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको दुईदिने राष्ट्रिय सम्मेलन पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले आयोजना गरेको सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, धर्म–संस्कृति, संविधान संशोधनलगायतका विषय समेटेर प्रस्ताव पारित गरेको हो ।

सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा शेरबहादुर देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।

१५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजक डा. शशांक कोइरालाले संयोजन गर्ने प्रस्तावसमेत पारित गरिएको छ ।

गत माघमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको विषयमा देउवा समूहले असहमति जनाउँदै आएको छ । उक्त विषयमा पुनरावेदनसमेत दिएको समूहले सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिइसकेको जनाएको छ ।

सम्मेलनबाट पारित पाँच प्रस्ताव यस्ता छन् :

१. १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा शेरबहादुर देउवाको सभापतित्वमा महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गर्ने । १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजकले संयोजन गर्ने ।

२. बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय संकटलाई ध्यानमा राख्दै अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान अवस्थामा पनि सान्दर्भिक बनाउँदै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्र सुदृढीकरणका लागि क्रियाशील रहने ।

३. नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा संरक्षण गर्ने । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किरात तथा प्रकृति पूजक धर्म–संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहने ।

४. जनअपेक्षाअनुसार वर्तमान संविधानमा आवश्यक संशोधन गर्न संविधानले व्यवस्था गरेको प्रक्रियाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने ।

५. राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना तथा सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेललाई दिने ।