जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार ०५:२१

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण मङ्सिर दोस्रो साताबाट


काठमाडौं, असोज ३१। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने सम्भावना रहेको छ। यद्यपि, भ्रमणको मिति भने औपचारिक रूपमा तय भइनसकेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ।

परराष्ट्रमन्त्री खनालले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिनुभएको हो। भ्रमण आगामी मङ्सिर दोस्रो साता हुन सक्ने चर्चा भइरहेका बेला उहाँले पनि सोही अवधिमा भ्रमण हुने बताउनुभएकाे छ । “तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,” मन्त्री खनालले भन्नुभयो।

वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको आगामी भारत भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ।

भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा सम्बन्धी विषयमा सकारात्मक प्रगति हासिल गर्ने सरकारको अपेक्षा रहेको उहाँले बताउनुभयो।

त्यसैगरी, भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यास हुनुका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

गत चैत १३ गते वर्तमान सरकारको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री शाहका लागि भारत भ्रमण पहिलो औपचारिक भ्रमण हुनेछ।