जनता टाइम्स

१६ पुष २०७६, बुधबार २१:१२

३ वर्षमै आमा गुमाउनु भएका प्रधानमन्त्री ओलीले हजुरआमा सम्झेपछि…


काठमाडौं, पुष ३

प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि बुधबार मध्यान्ह एक सार्वजनिक कार्यक्रमका लागि प्रज्ञा भवन कमलादी पुग्नु भयो । कारण थियो, देशका कर्णधार, समृद्ध बनाउने पुस्ता बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन उहा पुग्नु भएको हो ।

उहाले कार्यक्रम अवधिभर आफ्ना बाल्यकाल सम्झनु भयो र आफ्ना सुखदुखको अनुभव सुनाउनु भयो । उहालाई बालबालिकाले विभिन्न प्रश्न सोधे । त्यसै क्रममा एकजना बालिकाले प्रधानमन्त्रीलाई ‘तपाईको प्रेरणाको स्रोत को हो ?’ भनेर सोध्दा निक्कै भावुक हुनुभयो । जसको जवाफ उहाले यसरी दिनुभयो, ‘मेरी आमा बित्दा ३ वर्षको थिएँ । मेरो मुख्य आदर्श हजुरआमा रहनुभयो । मैले साँचो बोल्ने,सदव्यवहार गर्ने, परोपकारी धारणा राख्ने,मान्छेलाई माया गर्ने कसैप्रति भेदभाव नराख्ने गुणहरु हजुरआमाले सिकाउनुभयो ।

श्रमलाई माया गर्ने, मेहनति हुनुपर्छ भन्ने र हामीले केही राम्रो काम गर्नुपर्छ र अरुको नजरमा नगिर्ने खालको ,अरुले नराम्रो नभन्ने खालको काम गर्नुपर्छ भन्ने शिक्षा र प्रेरणा मैले हजुरआमाबाट प्राप्त गरेँ । मेरो प्रेरणा मेरी हजुरआमा हो । हुन त अरु अभिभावक र शिक्षक शिक्षिकाहरुबाट पनि प्रेरणा पाएँ ।

मैले अहिले जुन भन्ने गर्छु, शक्तिसँग डराउनु हुँदैन,शक्ति आवधिक र अस्थायी हुन्छ,सत्य अस्थायी हुँदैन । सत्यको पालना गर्नुपर्छ त्यो कुरा मैले मेरी हजुरआमाबाट सिकेको थिएँ । मेरो जीवनमा सत्यसँग नलड्ने,शक्तिसँग नझुक्ने आदर्श हजुरआमा हो । मेरो जीवनलाई प्रभावित गर्ने मूल प्रेरणा हजुरआमाबाट प्राप्त गरेको हो ।’

यसैक्रममा प्रश्न सोध्ने पालो जेभियर इन्टरनेश्नल स्कुल पठ्दै गरेका विद्यार्थी प्रज्ञान बस्नेतको पालो आयो । जुरूक्क उठेर उनले प्रधानमन्त्री ओलीलाई सोधे, ‘हजुर जस्तो प्रश्नको पनि सामान्य ढंगले उत्तर दिनुहुन्छ । हजुरको जस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला ?’ यो प्रश्नलगत्तै प्रधानमन्त्री ओलीले मुसुक्क मुस्कुराउँदै विद्यार्थीलाई धन्यवाद दिनुभयो ।

‘भाइबहिनीलाई लागेको छ मसँग अथाह ज्ञान छ भन्ने त्यो साँचो होइन । मसँग अलिकति थौरै आफ्नो विषयगत ज्ञानमा दख्खल छ। मलाई नेपालबारे सोध्यो भने अलि बढी थाहा छ। अरू देशबारे सोध्यो भने कम थाहा छ । आफ्ना र समाजका लागि उपयोगी हुने कुरा जान्नुपर्छ । ‘विद्वानले कम जानेको हुन्छ। सर्टिफिकेटधारी ज्ञानको अभावमा मान्छे रहने खतरा हुन्छ । अध्ययन भनेको जिन्दगीभरिको परीक्षा हो ।’