जनता टाइम्स

२१ माघ २०७६, मंगलवार ०९:४१

कुखुराको मासुमा मनोमानी मुल्यवृद्धि, एक किलोमा १७० रुपैयाँ वृद्धि


काठमाडौं, माघ २१

ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुरा मासुको मूल्य छोइनसक्नु भएको छ । पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँसम्म पुगेको कुखुरा व्यवसायी बताउँछन् ।
व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मूकदर्शक बनेको छ । मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मूल्य वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ । तर, यी दुई निकायले अनुगमन नै गरेका छैनन् ।

‘सरकारले कार्टेलिङ गर्नेको हकमा आँखा चिम्ली बसेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘कालोबजारी र कार्टेलिङ गर्नेलाई सरकारले नै संरक्षण गरेको भान हुन्छ ।’ मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो । मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री–वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे ।

उपभोक्ता संरक्षण ऐन, ०७५ ले त्यस्ता गतिविधिलाई बन्देज लगाएको छ । ऐनअनुसार कुनै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा बिक्री गर्न, व्यापारी वा व्यापारिक समूह मिली त्यस्ता वस्तुको अभाव सिर्जना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्न पाइँदैन । तर, सरकारलाई चुनौती दिँदै व्यवसायीले ऐनविपरीत काम गरे पनि कारबाही भएको छैन ।

पुस पहिलो साता कुखुरा मासु प्रतिकिलो २ सय ५०, दोस्रो साता २ सय ७० र तेस्रो साता २ सय ९० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । माघ दोस्रो सातासम्म ४ सय रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । उत्पादन नै कम हुँदा मूल्य बढेको संघका सचिव देवकुमार गिरीको दाबी छ । ‘चिसोका बेला मासुको मूल्य बढ्छ नै । अहिले उत्पादन नै कम छ,’ उनले भने, ‘त्यसैले मूल्य अकासिएको हो ।’ हरेक पसलमा मासुको मूल्य फरकफरक छ । कार्टेलिङ गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन नसक्दा बजारमूल्य मनोमानी भएको उनको भनाइ छ ।

संघका द्वितीय उपाध्यक्ष रवीन्द्रराज सिपखानले पनि पोल्ट्री, ह्याचरी र दाना व्यवसायमा भएको कार्टेलिङले बजार अस्तव्यस्त भएको बताए । मासुसँगै चल्लाको मूल्य एक सातामै ३० देखि रुपैयाँ बढेको छ । ‘एउटा चल्लाको ७० रुपैयाँ पर्छ । एक सातामै यति धेरै बढ्न नहुने थियो । बजारमा स्वस्थ प्रतिस्पर्धा पनि भएन,’ उनले भने ।

आपूर्ति विभागका सूचना अधिकारी नोखबहादुर बस्यालले भने अनुगमन भइरहेको दाबी गरे । ‘मूल्यबारे विभागको टोलीले अनुगमन गरिरहेको छ,’ उनले भने, ‘थप जानकारी मसँग आएको छैन ।’ नेपालभर दैनिक ७ लाख टन हाराहारीमा कुखुराको मासु खपत हुन्छ । उपत्यकामा मात्रै ८० प्रतिशत खपत हुन्छ । उपत्यकामा सर्लाही, सिरहा, झापा, दाङ, सुर्खेतलगायतबाट उपत्यका भित्रिन्छ । तर, मागको करिब २ लाख टन मात्रै पूर्ति भएकोदाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

‘अहिले ७० प्रतिशत मासु अभाव छ,’ उनले भने, ‘बिहेको सिजनका कारण बजारमा माग बढी छ । यसले पनि मूल्य बढेको हो ।’ अभाव भएपछि कोल्डस्टोरबाट मासु निकालेर बिक्री भइरहेको उनले जानकारी दिए । चिसोका कारण पनि चल्ला हुर्काउन समस्या भएको उनले बताए ।

भारतमा मकै र दानाको भाउ महँगो हुँदा पनि मूल्य बढ्नमा मद्दत पुगेको दाबी गरे । तर, राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका द्वितीय उपाध्यक्ष सिपखानले भने भारतमा मकैको मूल्य बढ्नु बहाना मात्र भएको बताए । (कान्तिपुर)