जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १५:५३

ब्यापारीलाई प्रधानमन्त्री ओलीको सुझाव : कसैले कमिशन मागे मलाई खबर गर्नुस, तत्कालै कारबाही हुन्छ


काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कमिसनको माग र भ्रष्टाचारको खेती नगर्ने प्रष्ट बटमलाइन ब्यवसायीलाई सुनाउनु भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले आज आयोजना गरेको ब्यवसायी सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो जनाउ दिनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको बटमलाइन सुनाउनु भयो ।

सुशासनको बाहेक, नियमितताको बाहेक, पारदर्शिताको बाहेक, स्वच्छताको बाहेक अरु कुनै माग गरिदैन, म फेरी पनि प्रष्ट भाषामा भन्छु, अहिलेको सरकार कुनै भ्रष्टाचारको खेती गर्दैन, कमिशन माग्दैन, सरकारले गर्ने भनेको सुशासन र भ्रष्टाचार मुक्त राष्ट्र निर्माण हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो । कानुन भन्दा बाहिरका कुनै काम ब्यवसायीले गर्न नपर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

‘कानून भन्दा बाहिरका काम तपाईहरुले गर्नु पर्दैन, यदि कसैले त्यस्तो अपेक्षा गर्छ र माग्छ भने मलाई खबर गर्नुस, तत्कालै कारबाही हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सरकार स्वच्छ बिकसित सभ्य देश निर्माणको अभियानमा रहेको भन्दै साथ दिन आग्रह गर्नुभयो । ‘सरकार स्वच्छ बिकसित सभ्य देश निर्माणको अभियानमा छ, यसमा हामी सबैको सहयोग हुनुपर्छ । यदि तपाईहरुलाई कुनै असुबिधा छ भने त्यसलाई सहयोग गर्न सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।