जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १४:२२

वुहानबाट नेपाल ल्याइने विद्यार्थीले परिवारसँग भेट्न नपाउने, यस्तो छ क्वारेन्टाइनमा पालना गर्नुपर्ने नियम


काठमाडौं, फागुन १ । चीनस्थित नेपाली दूतावासले चीनको हुबेई प्रान्तबाट आफ्ना नागरिकलाई नेपाल पठाउने तयारी थालेको छ । दूतावासले नेपाल फर्कन फारम भरेका १ सय ८५ नेपाली विद्यार्थीलाई सर्तनामा फाराम भराएको हो । सरकारले शनिवार १८५ जना नेपालीलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ । सोही योजनाअनुसार दुतावासले सर्तमाना फारम भराएको हो ।

फाराममा नेपाल आइपुगेपछि क्वारेन्टाइनमा रहँदा कस्तो नियम पालना गर्ने भन्नेसमेत उल्लेख छ । जसअनुसार चीनबाट उद्दार गरेर ल्याइने नेपाली विद्यार्थीले क्वारेन्टाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने छ । यस्तै क्वारेन्टाइनमा रहँदा कसैले पनि आफ्नो परिवारसँग भेट गर्न पाउने छैनन । सर्तअनुसार ६ जनासम्मले एउटै शौचालय प्रयोग गर्नुपर्ने छ । क्वारेन्टाइनमा रहनेका लागि त्यहीँभित्रै खाना, स्वास्थ्य उपचार, संक्रमणको सतर्कतालगायत सबैकुरा व्यवस्थित गरिने सरकारको भनाई छ । दूतावासले विद्यार्थीलाई फाराम भर्न लगाउँदै नेपालबाट खबर आउनसाथ तयार हुन भनेको छ ।

‘हामी सबै जनालाई दूतावासले वुहानमा जम्मा गर्ने भनेको छ,’ हुबेईमा रहेकी एक विद्यार्थीले जनताटाइम्ससँग भने, ‘एयरपोर्ट पुग्न पनि हामीलाई दूतावासले नै बस व्यवस्था गर्छौं भनेको छ । ’ चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर आतंक मच्चाएपछि सरकारले फागुन ३ गते हुबेई प्रान्तमा रहेका आफ्ना नागरिलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउँदैछ । बुधबार वुहान उड्ने जहाजका सम्पूर्ण क्रु लाई विशेष तालिम पनि दिइएको छ । चीनबाट ल्याइने नेपाली विद्यार्थीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने भएका छन । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको चार वटा भवनमा क्वारेन्टाईन निर्माण कार्य पुरा गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाईन बनाएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो । चीनको कोरोना भाइरस संक्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चार वटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको छ । नेपालीको उद्दार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको र चीनबाट स्वदेश फर्किन चाहने १८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ देखि १७ दिनसम्म राखेर स्वस्थ्य भए मात्रै घर पठाईने छ ।

जहाजका पाईलट लगायतको टोलीलाई चाँगुनारायण ६ नगरकोटको खानेपानी तालिम केन्द्रमा राख्ने तयारी गरिएको छ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने छ भने सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।