जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार १४:३७

कोरोनाबिरुद्ध उच्च सतर्कता : क्वारेन्टाइनमा नियम तोडे राजा महेन्द्रको कानुनअनुसार हुन्छ यति कडा कारबाही


काठमाडौं, फागुन २ । सरकारले चीनबाट उद्धार गरी नेपाल ल्याउने नेपालीको लागि कडा ब्यवस्था गरेको छ । चीनमा महामारीको रुप लिएको कोरोना भाइरस फैलिएको स्थानबाट उद्धार गरी ल्याउन लागिएको नेपाली बिद्यार्थीको लागि सरकारलेयस्तो कडा नियम बनाएको हो ।  चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए तात्कालिन राजा महेन्द्रको पालामा बनाइएको ५६ वर्ष पुरानो ऐनअनुसार कारबाही हुने सरकारले प्रष्ट पारेको छ ।

संक्रामक रोग रोकथामका सम्बन्धमा नयाँ ऐन नभएकाले राजा महेन्द्रको पालामा बनेको ‘संक्रामक रोग ऐन, २०२०’ आकर्षित हुने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा तोकिएको नियमको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ । त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा पुर्याए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने सो ऐनमा व्यवस्था छ । क्वारेन्टाइनमा सरकारको निर्देशनअनुसार असल नियतले खटिने कर्मचारीविरुद्ध कसैले नालिस वा अन्य कानुनी कारबाही गर्न नसकिने पनि ऐनमा व्यवस्था छ । सरकारको निर्देशन उल्लंघन गर्ने जो–कसैलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ ।

तात्कालिन राजा महेन्द्रले ०२० मा ‘ज्वरो’ नियन्त्रण गर्न राष्ट्रिय पञ्चायतको सल्लाहमा यो ऐन बनाउनुभएको थियो । देशभर वा देशको कुनै भागमा संक्रामक रोग फैलिए वा फैलिने सम्भावना देखिए रोकथाम र निर्मूल गर्न ऐन जारी भएको थियो । संक्रामक रोगसम्बन्धी नयाँ ऐन–नियम नबनेका कारण ०२० मा बनेको ऐन नै लागू गर्नुपरेको स्थास्थ्य मन्त्रालयका पदाधिकारीको भनाई छ । चीनको वुहानलगायत सहरबाट एक सय ८० नेपालीमा फर्काउन सरकारले शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा यसअघि नै गराइसकेको छ ।

सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ । सर्तनामा उलंघन भएमा कडा सजायको भागिदार बन्नुपर्ने भएको हो । सरकारले क्वारेन्टाइनमा दुई हप्ता अनिवार्य बस्नैपर्ने, आवश्यक परे अझै बढी राख्न सकिने जनाएको छ । त्यस्तै, क्वारेन्टाइनमा रहँदा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन हुनेछ । सबै सरकारले तोकेको स्थानमा मात्रै गर्न पाइनेछ । दुई सातासम्म आफन्तसँग भेटघाट गर्न नदिने तथा क्वारेन्टाइनस्थल बाहिर निस्किन नपाउने नियम बनाएको छ ।

नियमित स्वास्थ्य र नमुना परीक्षण गर्दा अवरोध गर्न नपाउने पनि उल्लेख छ । कुनै पनि नेपालीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिए पनि परीक्षण गरी एकिन नहुँदासम्म सतर्कता नअपनाउँदा नेपालमा पनि संक्रमण फैलन सक्ने भन्दै सरकारले उच्च सतर्कतासहित यस्तो सर्तनामा गराएको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपाली र नेपालका कुनै पनि नागरिकमा अहिलेसम्म कोरोनाको संक्रमण नरहेको जानकारी यसअघि नै दिइसक्नु भएको छ ।