जनता टाइम्स

३ फाल्गुन २०७६, शनिबार ०९:२७

उद्धारका लागि वुहानमा जम्मा हुन थाले नेपाली, आज राति काठमाडौं ल्याइदै


काठमाडौं, फागुन ३

कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपाली विमानस्थल आउने तयारीमा जुटेका छन् । आज राति उद्धार गरिने भएपछि उनिहरु वुहानमा केन्द्रीत हुन थालेको नेपाली दूतावासले जानकारी दिएको छ ।

शनिबार बिहान हुबेईका विभिन्न सहरमा रहेका नेपालीहरुलाई वुहान ल्याउने क्रम जारी रहेको छ । वुहान र आसपासका सहरमा गरी १८२ जना नेपाली रहेका छन् । हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उड्दैछ । शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाड उडेको विमान राति ९ बजे(चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं अवतरण गरेलगत्तै उनिहरुलाई सिधै खारीपाटीमा लगेर राखिनेछ ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।