जनता टाइम्स

३ फाल्गुन २०७६, शनिबार १७:४७

नेपाली उद्धारका लागि चीन उड्यो बाइडबडी


काठमाडौं, फागुन ३

सरकारले चीनबाट नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाएको छ । कोरोना भाइरसको उद्मगस्थल हुवेई प्रान्तको वुहान र आसपासका क्षेत्रबाट नेपालीहरुको उद्धारका लागि जहाज पठाएको हो ।

नेपाली समय ४ बजेर १ मिनेटमा उडेको जहाज ३ घण्टा ३६ मिनेटमा वुहान पुग्नेछ । उद्धारको पर्खाइमा रहेका नेपालीहरु अहिले वुहान एयरपोर्टमा जम्मा भइसकेका छन् । वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।