जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १५:२६

राष्ट्रपति ट्रम्पको भारत यात्राको सामरिक महत्व


आफू जीवनमा पहिलो चोटी पाँच लाख मान्छेलाई सम्वोधन गर्ने भन्ने विषयमा ट्रम्प जोसिएका छन् । ट्रम्पको स्वागतका लागि अहमदावादको पटेल स्टेडियमलाई विश्वको ठुलो स्टिडियमको रुपमा तयारी गरिदैछ । ट्रम्पले आफ्नो यात्राका क्रममा गान्धी आश्रममा गएर अहिंसाप्रति आफ्नो आस्था राख्नेछन

संसारमा अति कम यात्रा गर्ने राष्ट्र प्रमुखमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिइन्छ । हालसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १८ पटक मात्र आफ्नो राष्ट्रपति कार्यकालमा विदेश यात्रा गरेका छन । फेब्रुअरी २४ तारिकमा हुन लागेका ट्रम्पको भारत यात्रा विश्व सञ्चारकर्मीहरूका लागि गन्थन र मन्थनको विषय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो लोकसभाको चुनावभन्दा पहिले अमेरिकाको हुडीमा आप्रवासी भारतीयहरूलाई सम्वोधन गरेर भारतको जनमतलाई मनोवैज्ञानिक प्रभाव पार्न समर्थ भएका थिए । हुडीमा ट्रम्पको सहभागिताले मोदीको अभियानलाई नैतिक सर्मथन दिएका थिए ।

ट्रम्प पनि यही रणनीति अनुरुप संसारको ठुलो नवनिर्मित अहमदावादको स्टेडियमबाट विशाल भारतीय जनसमुदायलाई सम्वोधन गरेर अमेरिकामा वसोवास गरिरहेका भारतीय समुदायको प्रचूर सर्मथन र सहयोगको अभिलाषा राखेको कुरा राजनीतिक विश्लेषकहरूको बुझाइ रहेको छ । अमेरिकास्थित भारतीय समुदायको आर्थिक र वौद्धिक प्रभाव अमेरिकी जनजीवनमा प्रचूर मात्रामा रहेको पाइन्छ । हुनतः भारतीय समुदाय को ७० प्रतिशत समर्थन विगतमा रिपब्लिकनसँग रहेको कुरा तथ्यांकले सावित गर्दछ । तर प्रजातान्त्रिक मुलुकहरूमा मतदाताको अभिमत परिवर्तनशील रहन्छ । भर्खरै महाअभियोगवाट मुक्त भएका ट्रम्पको अर्जुन दृष्टि आउने राष्ट्रपतिको चुनावमा नै केन्द्रित रहेको अवस्थामा भारत यात्रा पनि यही अभिप्रायले सुनियोजित छ । अब ट्रम्प यात्राको सामरिक महत्व र यसको भू–राजनीतिक माथि विर्मश गरौं ।

विगतमा अमेरिकी राष्ट्रपतिहरू भारत यात्रा गर्दा पाकिस्तानको यात्रा पनि संगसंगै गर्ने प्रचलन थियो । अर्थात दक्षिण एसियामा सन्तुलन राख्दै भारत र पाकिस्तानबीच पनि सम्वन्ध सन्तुलन गर्न अमेरिकाको प्रयास रहन्थ्यो । यस यात्रामा पूर्णरुपमा भारत केन्द्रित छ । यसका विभिन्न कूटनीतिक आयामहरू छन । यी आयाममध्ये पहिलो आयाम ट्रम्पको काश्मिर सम्वन्धी नीति हो । काश्मिरको विषयलाई लिएर अहिलेसम्म ट्रम्पका सातवटा अभिव्यक्तिहरू आएका छन । पहिलो अभिव्यक्तिमा ट्रम्पले काश्मिरको विषयमा पाकिस्तान र भारतबीच मध्यस्थता गर्ने इच्छा जाहेर गरे । तुरुन्तै मोदीले ट्रम्पको अभिव्यक्तिलाई प्रतिवाद गर्दै काश्मिर द्विपक्षीय समस्या भएको हुँदा यसमा मध्यस्थताको कुनै गुन्जायस नरहेको कुरा व्यक्त गरे । राजनीतिमा स्वार्थ र सार्मथ्य निर्धारक अस्त्र मानिन्छन । तदनुरुप ट्रम्पले सुस्तरी आफ्नो अडानलाई परिवर्तित गरे ।

काश्मिरको मुद्दामा आफ्नो साविकको नीतिमा नै अवतरित भयो । काश्मिरमा धारा ३७० निस्तेज भएपछि संसारका मुश्लिम वाहुल्य देशहरूमा ट्रम्पको भारत यात्राले भारतको नीतिलाई सर्मथन पुग्ने जानकारहरूको दावी रहेको छ । जवाहरलाल विश्व विद्यालयका विदेश विभागका विज्ञ डा. स्वर्ण सिंहले ट्रम्पको भारत यात्राले भारतले लिएको काश्मिर नीतिको अनुमोदनको रुपमा व्याख्या गरेका छन । विगतका दिनहरूमा टर्की र मलेसिया जस्ता मुलुकहरूले काश्मिरको विषयमा भारत विरोधी अभिव्यक्ति दिएको पाइन्छ । ट्रम्प यात्राको अभिप्राय अफगानिस्तानसंग पनि केन्द्रित रहेको देखिन्छ । अमेरिका आउने दिनहरूमा अफगानिस्तानबाट आप्mनो उपस्थितिलाई घटाउन खोजिरहेको छ । विगतका दिनहरूमा अमेरिकाले पाकिस्तानलाई अस्त्र बनाएर तालिवान समूहमाथि लगाम लगाउन अथक प्रयास गरेता पनि पाकिस्तानमा आएसआईको दोहरो भुमिकाले गर्दा अफगानिस्तानमा अमेरिकी नीति सफल हुन सकेन । तालिवान र काश्मिरी पृथकतावादीको सम्वन्धलाई मध्यनजर राख्दै आउने दिनमा भारतसँग सहकार्य गर्दा आफ्नो नीति सफल हुने अमेरिकी सामरिक चिन्तकहरूको विचार रहेको छ । साथसाथै अफगानिस्तानको पूणर्निर्माणमा भारतीय मानव संसाधन र धनराशी प्रचूर मात्रामा प्रयोग भएको हुँदा अफगानिस्तानको जनसमुदायमा भारतप्रति राम्रो धारणा रहेको कुरा अमेरिकाले राम्ररी बुझेको छ ।

यही वैचारीक धरातललाई सेतु बनाएर अफगानिस्तानमा भारत र अमेरिकाले सहकार्य गर्ने विषयमा ट्रम्पको यात्राले वातावरण बनाउने छ । ट्रम्पको यात्राको अर्को महत्वपूर्ण पक्ष हो, भारत र इरान सम्वन्ध । अमेरिका इरान र भारतको प्राचीन मैत्रीसंग अवगत छ । एकातर्फ इरानलाई विभिन्न किसिमको शक्तिको प्रयोगवाट अमेरिकाले भगीरथ प्रयास गर्दै छ भने अर्कोतर्फ वार्ता र सहजर्कताको खोजी पनि गर्दैछ । अमेरिकीद्वारा जनरल सुलेमानीको हत्यापछि इरानको विदेश मन्त्रालयको आधिकारिक अभिव्यक्तिले भारतको नेतृत्वलाई शान्ति प्रक्रियामा भूमिका खेल्न आग्रह गरेको अवस्थालाई अमेरिकाले चातुर्यपूर्ण ढङ्गले लिदै मोदीको नेतृत्वलाई पनि आउने दिनमा उपयोग गर्न सकिने सम्भावनालाई पनि नर्कान सकिदैन । साथसाथै दक्षिण एसियामा भुटान र बङगलादेशको आर्थिक विकासमा भारतले खेलेको भूमिकाले गर्दा दुईवटै अर्थतन्त्रको क्रयक्षमता अमेरिकी सर समानलाई खरिद गर्न समर्थ भएको अवस्था छ । त्यस अर्थमा आर्थिक र सामरिक लाभलाई मध्यनजर राख्दै पाकिस्तानभन्दा भारतसंगको मित्रतामा अमेरिकाको वढी रुची रहेको देखिन्छ ।

ट्रम्पको यात्राको सबभन्दा महत्वपूर्ण उद्देश्य ‘इण्डोप्यासिफिक’ नीति हो । हिन्द महासागरमा भारतको शक्ति बढोस भन्ने अमेरिकी चाहनाको पछाडि चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्नु हो । यसै सन्र्दभमा भारतको सामरिक शक्ति बढोस भन्ने अमेरिकी चाहना रहेको छ । साथ साथै अमेरिका भारतको पहिलो सुरक्षा साझेदारको रुपमा उभिन खोजेको छ । तदनुरुप २४ एम.पी.च., ६० मल्टि रोल हेलिकप्टर (२.६ विलियन अमेरिकी डलर) एपाचे हेलिकप्टर (९३० मिलियन अमेरिकी डलर) जस्ता विभिन्न सुरक्षाका क्षेप्यास्त्रहरू भारतलाई बेच्न अमेरिका तयार रहेको देखिन्छ । अर्थात भारतको कुल ग्रार्हस्थ्य उत्पादनको १.५ प्रतिशत लगानी उल्लेखित हतियार किन्नमा खर्च हुने अध्ययनले देखाउछ । भारत र अमेरिकबीच सौह्रर्दता र व्यापारिक द्वन्द पनि साथ साथै गइरहेको देखिन्छ । एक अभिव्यक्तिमा ट्रम्पले भारतलाई ‘ट्यारिफ किंग’ भनेका छन् । अर्थात् भारतले अमेरिकी सामानमा अधिक कर लगाएको गुनासो अमेरिकाको रहेको छ ।

भारतले अमेरिकासंग जि.एस.पी. (जेनरलाइजड सिस्टम अफ प्रिफेन्स) को सुविधा प्राप्त गरेको थियो । यसको अर्थ भारतवाट अमेरिका निर्यात भएको वस्तुमा कर न्यून थियो । कालान्तरमा ट्रम्पको संरक्षणवादको नीति अनुरुप भारतवाट निर्यात भएको स्टीलमा २५ प्रतिशत र अल्मुनियममा १० प्रतिशत कर वृद्धिले भारतको अमेरिकासंग १.५ विलियन व्यापार प्रभावित भएको देखिन्छ । प्रतिकारमा अमेरिकाबाट आयात भएको सामानमा करको दायरालाई अभिवृद्धि गर्ने मुलुक भारत नै हो । भारतमा अलमण्डको मात्रै आयात ६ सय मिलियन अमेरिकी डलरको हुन्छ । त्यस्तै भारतले गारमेन्ट र लेदर पनि अमेरिका निर्यात गर्दछ । हालका दिनमा भारत अमेरिकाको महत्वपूर्ण उद्देश्य भारतमा कृषि क्षेत्र र औषधि र स्वास्थ्य क्षेत्रमा लगानी र व्यापार बढाउनु रहेको छ । भारतका पूर्वराजदूत निलमदेवका अनुसार ट्रम्प र मोदीको वार्ताको केन्द्रविन्दु व्यापार घाटालाई कसरी सन्तुलन गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ । हालको आँकडाअनुसार भारतले अमेरिकासंगको व्यापारमा २८ विलियन अमेरिकी डलर बेहोर्नु परेको देखिन्छ ।

व्यापार घाटाका सन्तुलनका साथ साथै मोदीले भारतको दक्ष जनशक्तिको भिसामा २४ प्रतिशत अमेरिकाले कटौती गरेको कुरालाई पनि उठान गर्नेछन । अमेरिकाको सिलकेन भ्यालीमा सप्mट वेयर निर्माणमा या त अधिक भारतीय छन् या त यहुदी । यहुदीलाई अपेक्षाकृत अमेरिकामा वसोवास गर्न कानुन खुकुलो छ । भारतीयहरू पनि यहुदी सरह नै आफ्नो हैसियत खोजीरहेको अवस्था छ । मोदी र ट्रम्पको वार्ताले यो विषयमा पनि प्रवेश गर्ने छ । यात्रापूर्व ट्रम्प एकदमै उत्साहित देखिएका छन् । ट्रम्प र मोदी हवाई अड्डादेखि अहमदावादको वाटो ८ किलोमिटर रोड सो गर्ने छ । आफू जीवनमा पहिलो चोटी पाँच लाख मान्छेलाई सम्वोधन गर्ने भन्ने विषयमा ट्रम्प जोसिएका छन् । ट्रम्पको स्वागतका लागि अहमदावादको पटेल स्टेडियमलाई विश्वको ठुलो स्टिडियमको रुपमा तयारी गरिदैछ । ट्रम्पले आफ्नो यात्राका क्रममा गान्धी आश्रममा गएर अहिंसाप्रति आफ्नो आस्था राख्नेछन् । साथ साथै सावरमती नदी अवलोकन पनि गर्ने छन् । ट्रम्पले गान्धी आश्रममा चख्र्रा चलाएर विश्व औद्योगीकरण र भौतिकवादवाट आक्रान्त रहेको क्षणमा सादगी र स्वावलम्बनको संदेश पनि दिने कार्यक्रम रहेको छ । ट्रम्पको भारत यात्रा पछिको सबिस्तार चर्चा अको लेखमा गर्नेनै छु ।