जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार २२:०७

मनमोहन कार्डियोथोरासिक सेन्टरमा प्रधानमन्त्री ओलीको मुटु परीक्षण, यस्तो छ चिकित्सकको रिपोर्ट


काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कोरोनरी एन्जियोग्राफी गरिएको छ । मनमोहन कार्डियोथोरासिक सेन्टरमा आज प्रधानमन्त्री ओलीको मुटु परीक्षण गरिएको हो।

डा अरुण सायमीको नेतृत्वको टोलीले उहाँको मुटुको परीक्षण गरेको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको मुटुको अवस्था सामान्य रहेको छ । प्रधानमन्त्री ओली अवको आधा घन्टापछि डिस्चार्ज भई निवास फर्कनुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

मुटुरोग विशेषज्ञ प्राडा सायमीले प्रधानमन्त्री ओलीको मुटुमा कुनै समस्या नभएको जानकारी दिनुभयो । उहाँ मुटुमा कुनै समस्या भएकोले आउनुभएको भने होइन, हामीले नियमित परिक्षणकै रुपमा उहाँको एन्जियोग्राफी गरेर हेरेका हौं। सबै ठिक छ। उहाँ आजै फर्किनु हुन्छ, सायमीले भन्नुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको मुटुको सामान्य परीक्षण गरिएको र आजै फर्कने बताउनु भयो । प्रधानमन्त्रीको अन्य अंग झैं मुटुको पनि सामान्य परीक्षण गरिएको हो। उहाँ अव केही समयपछि नै निवास फर्कनुहुन्छ। भोलीको प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुनुहुन्छ, थापाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले केही समय अघि सम्पादकहरुसँगको छलफलमा छिट्टै आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए। त्यसैको तयारी स्वरुप मुटुको परीक्षण गरिएको हुनसक्ने स्रोतले दाबी गरेको छ।