जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १२:०२

कोरोनाबाट जोगाउन सरकारले चाल्यो कडा कदम : कोरियाबाट आउने सवै यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य


कोरिया जाने कामदारको उडान रोकियो, सतर्क रहन दूतावासको अपिल

काठमाडौं, फागुन १२ । सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा उच्च सतर्कता अपनाइएको हो ।

कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय गरेको हो । यसअघि चीनको वुहानबाट आएका यात्रुको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोेखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको जनताटाइम्सलाई बताउनु भयो । अध्यागमनको तथ्यांकअनुसार कोरियाबाट दैनिक करिब दुई सय नेपाली आउने गरेका छन । चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने स्वास्थ्यका अधिकारीहरुले बताएका छन । चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत रहनुपर्ने सुझाव दिएका छन । यसअघि चीनबाट एक सय ७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ ।

कोरोना प्रभावितको उपचार गर्दै आएका सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाका अनुसार नेपाल कोरोना भाइरसको जोखिमबाट बाहिर निस्कन सक्ने अवस्थामा छैन । ‘क्वारेन्टाइनमा नबसेका व्यक्तिहरू कोरियाबाट नेपाल आइरहेका छन, उनीहरूको कुनै परीक्षण भएको छैन,’ डा. बाँस्तोलाले भन्नुभयो, ‘लक्षण नै नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ, त्यसैले सूक्ष्म रूपमा निगरानी गर्न आवश्यक छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा दुई हप्ता बसेर घर गएका व्यक्तिमा समेत दश दिनपछि पुनः कोरोना पोजेटिभ देखिएको छ ।

कोरिया जाने कामदारको उडान रोकियो

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक कृष्ण खनालका अनुसार तत्काल नेपालबाट कोरिया पठाउन रोकिएको छ । ‘कोरोनाको संक्रमण बढ्दै गएपछि कोरियाली अधिकारीसँग छलफल गरेर गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकिएको छ । गत हप्ता करिब दुई दर्जन कामदार तालिकाअनुसार उड्न पाएनन,’ खनालले भन्नुभयो ।

आगामी १८ फागुनमा ४० कामदार कोरिया पठाउने कार्यसूची पनि प्रभावित भएको छ । कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ सय दुई पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ७८ हजार आठ सय ८८ मा संक्रमण भएको र दुई हजार चार सय ६७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
सतर्क रहन दूतावासको अपिल

कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सतर्क रहन अनुरोध गरेको छ । दूतावासले भनेको छ, ‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोप्रति यहाँ रहेका सबै नेपाली बढी सजग र सचेत हुन जरुरी देखिएको छ । साथै हाल बढी संक्रमण देखिएको क्षेत्र थेगु तथा आसपासमा बसोवास गर्ने नेपाली कामदार, अन्य पेसा व्यवसाय गरी बसेका र विद्यार्थीलाई विशेष सावधानी अपनाउन अनुरोध छ ।’