जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १५:३८

अस्पातल भर्ना हुनअघि भिडियो सम्बोधनमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओली : यस्तो छ निचोड


काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुअघि आज भिडियो सम्बोधनमार्फत देशबासीका नाममा सन्देश दिनुहुने भएको छ । प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै हुनुहुन्छ ।

आज अपरान्ह ५ बजेपछि सो सेन्टरमा भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको भिडियो सन्देश उहाँ अस्पताल पुगेलगत्तै सार्वजनिक गरिनेछ । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्था र अन्य केही विषय स्पष्ट पार्नुहुनेछ । प्रधानमन्त्री ओलीको फागुन २१ गते अर्थात पर्सि बुधवार सोही सेन्टरमा मिर्गौला प्रत्यारोपन गर्ने तयारी छ ।

सोही तयारीअनुसार प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुन लाग्नुभएको छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपनका लागि त्रिबि शिक्षण अस्पतालले विशेषज्ञसहित विशेष टोली खटाएको छ । दुवै मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । पछिल्लो समय उहाँले नियमित डायलासिस गराउँदै आउनु भएको छ । केही समय अघि नै मृगौला प्रत्यारोपन गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीको अपर्झट एपेण्डिसाइटिसको अप्रेशन गर्नुपरेकोले केही समय पछाडि सारिएको हो ।