जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १९:०५

प्रधानमन्त्री ओली अस्पताल भर्ना : सरकारको काममा कमजोरी हुन नदिन बन्यो यस्तो बिशेष संयन्त्र


काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । मिर्गाैला प्रत्यारोपनका लागि प्रधानमन्त्री ओली केहीबेर अघि त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।

प्रधानमन्त्री ओलीको पर्सि बुधवार दोस्रो पटक मिर्गाैला प्रत्यारोपन हुँदैछ । सोही क्रममा चिकित्सकीय तयारीका लागि प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो । अस्पताल भर्ना हुनुअगावै सरकारको कामलाई अघि बढाउन आवश्यक प्रबन्ध मिलाइएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।

‘यसबीचमा सरकारको तर्फबाट गर्नुपर्ने सवै काम नियमित रुपमा अघि बढने छ । बिश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस वा भैपरी आउने कुनै पनि बिषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र आवश्यक ब्यवस्था मिलाएको छु,’ प्रधानमन्त्री ओलीले भर्ना हुनुअघि भिडियो सन्देशमार्फत भन्नुभएको छ ।