जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार ०९:४३

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था उल्लेख्य सुधार, कालो चिया पिउनुभयो


काठमाडौं, फागुन २२

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका हुन् ।

प्रत्यारोपण गरिएको मिर्गौला सोचे अनुरुपकै पिसाब उत्पादन गर्न सफल भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिनुभयो । उहाका अनुसार विहिवार विहान ८ बजेसम्म १० लिटर भन्दा बढी पिसाब निस्किएको बताउनु भयो । ‘प्रधानमन्त्री ज्यूले पिसाब गर्नु भएको छ, यसको अर्थ नयाँ मिर्गौलाले काम गर्न थालेको छ’, उहाले भन्नुभयो । अवस्था स्थिर रहेपछि प्रधानमन्त्री ओलीलाई कालो चियासहितका तरल पदार्थ दिइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अहिले उहा अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा भएको एक चिकित्सकले जानकारी दिनुभयो । प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्राय निदाउने गर्नुभएको छ । तर बिउँझिएका बेला प्रधानमन्त्री ओलीले चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा रहनु भएको डा.ज्ञवालीले बताउनु भयो ।

यसैबीच, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया पिएको जानकारी दिनुभयो । ‘मैले चिकित्सकसँग कुराकानी गरेको थिएँ, प्रधानमन्त्रीले बिहान कालो चिया पिउनु भयो भन्नु भएको छ’, उहाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ । संक्रमणको खतरा भएकाले केही दिन कसैलाई पनि भेटघाट गर्न नदिइने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार अहिलेकै अवस्था जसरी प्रगति हुदै जाने हो भने सोमबारसम्म डिस्चार्ज गरिने उल्लेख गरेका छन् । प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको एक दुई दिन अघि मिर्गौला दाता समीक्षा संग्रौलालाई पनि डिस्चार्ज गरिने अस्पतालले बताएको छ ।

प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले विशेष निगरानी गरिरहेको छ । उहाको बुधबार करिव पौने पाँच घण्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको थियो । नयाँ मिर्गौला ओलीको दाहिने पट्टी भागमा राखिएको छ ।