जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १७:४८

यसो गरे कोरोना भाइरसबाट बच्न सकिन्छ


काठमाडौं, फागुन २५ । विश्वभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण भइसकेपछि मानिसको मृत्यु हुन्छ भन्नु भ्रम मात्रै रहेको चिकित्सकहरूले बताएका छन । सचेतना अपनाए कोरोनाबाट बच्न सकिने निश्कर्ष पनि चिकित्सकहरुले सुझाएका छन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाका अनुसार कारोना भाइरसको संक्रमणपछि ८० प्रतिशत सामान्य रुघाखोकीको जस्तो लक्षण देखिन्छ तर यो लक्षण देखिँदैमा मृत्यु नै हुने होइन । उहाँ सचेत भने हुनुपर्ने सुझाउनु हुन्छ । ‘कोरोना भाइरसको संक्रमण भएमा मृत्यु हुने दर करिब १ प्रतिशत हुने गरेको देखिन्छ, ६० वर्षमाथिका दीर्घरोगीमा (फोक्सो र मधुमेहका बिरामीमा) कोरोना संक्रमण भएमा मृत्यु हुने दर बढी हुन्छ,’ बाँस्तोलाले भन्नुभयो । साबुन पानीले बेला–बेला राम्रोसँग हात धुनु नै यसको पहिलो उपाय रहेको उहाँको भनाई छ । तर, कम्तीमा २० सेकेन्ड जति हात राम्रोसँग धुने, बाहिरबाट घरआएपछि राम्रोसँग साबुन पानीले हात धुने र छालाबाट नसर्ने भए पनि भित्री शरीरसँग सम्बन्ध राख्ने अंगहरू जस्तै : नाक, मुख र आँखा छुनु परेमा हात धोएर मात्रै छुनुपर्ने उहाँको सुझाव छ ।

चिकित्सकहरूका अनुसार ज्वरो रुघाखोकी आएमा नआतिने पारासिटामोल खाने, मनतातो झोलिलो खानेकुरा खाइरहने, आराम गर्ने आदि गर्दा पनि समस्या निको भएन भने तुरुन्त चिकित्सकको जानुपर्छ । नेपालमा हालसम्म एक जना चीनबाट आएका नेपालीबाहेक अन्यमा कोरोनाको संक्रमण देखिएको छैन । उक्त एक व्यक्ति समेत ठीक भएर अस्पतालबाट डिस्र्चाज भइसकेका छन भने अन्य कोरोना भाइरसको आशंकामा जाँच गरिएकाहरूमा पनि कोरोना नभेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक सय जनालाई संक्रमण हुँदा २ देखि ३ जनाको मात्र मृत्यु हुने अनुमान छ ।

कोरोनाको लक्षण देखिँदा के गर्ने ?

लगातार ज्वरो र खोकीको लक्षण देखिँदा आत्तिनु नहुने चिकित्सकहरूको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक बास्तोलाका अनुसार यो मौसमी रुघाखोकीको लक्षण हो । यदि प्रकोप फैलिएको देशबाट वा संक्रमितको सम्पर्कबाट आएको भएमा कुनै पनि अवस्थामा कार्यालय वा सार्वजनिक स्थानमा जानुहुँदैन । अस्पताल गएर जाँच गराएर परिवारभन्दा बेग्लै (होम क्वारेन्टाइन) मा बस्ने र आफ्ना सामान परिवारका अन्य सदस्यलाई नदिने र उस्को सामान पनि प्रयोग नगर्ने गर्नुपर्छ ।

कोरोनाबाट बच्ने उपाय

२० सेकेन्डभन्दा बढी सम्पूर्ण औंलाहरूका कापमा साबुन पानीले मिचीमिची हात धुने ।

रूघाखोकी लागेका व्यक्ति, परिवार, साथीभाइ तथा समुदायबाट अलग्गिएर बस्ने ।

भीडभाडमा नजाने, सकेसम्म हात नमिलाउँने ।

सर्जिकल तथा एन ९५ मास्कको प्रयोग गर्ने ।

विभिन्न सतह छोएपछि जस्तैः टेम्पो, माइक्रो, बस चढेपछि तथा अन्य कुनै कार्य गरेपछि सेनिटाइजरले हात पुछ्ने ।
राम्रोसँग साबुन पानीले हात धोएर वा सेनेटाइजरले हात पुछेर मात्र हातले आँखा, नाक, मुख छुने ।