जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार १४:२४

अनुदान लिएको अस्पतालमा जव मन्त्रीले देखे ताला


डडेलधुरा, फागुन २६ । सरकारी अनुदान लिएको अस्पताल अनुगमनमा पुग्दा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको रिसको पारा एकाएक बढ्यो । राम्रो भवन देखेर वाह कति राम्रो भन्दै अस्पताल परिसर पुग्नुभएका राज्यमन्त्री रावत त्यहाँको दृष्य देखेपछि रिसाउनु भएको हो ।

स्वास्थ्य राज्यमन्त्री रावत स्वास्थ्य बीमा शुम्भाम्भ गर्न फागुन २२ गते शुक्रवार डडेलधुरा आइपुग्नुभएको थियो । डडेलधुरा पुगेको भोलिपल्ट २३ गते स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने समय थियो बिहानीको ११ बजे । त्यसअघि उहाँले बिहान ७:१५ बजे पत्रकार सम्मेलन गर्नुभयो । ८:१५ बजेदेखि यस क्षेत्रका धार्मिक तथा पर्यकीय स्थलहरुको अवलोकन भ्रमणसहित डडेल्धुरामा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालहरुको अनुगमन तथा निरीक्षण गर्ने योजना बनाउनु भयो ।

अनुगमनको क्रममा राज्यमन्त्री रावतसहितको टोली सदुरमुकाम बसपार्क नजिकैको सरकारी अनुदानमा बनेको अपि अस्पताल पुग्यो । माथिबाट हेर्दा निकै चिटिक परेको घर देखेपछि राज्इमन्त्री रावत निकै उत्साहित हुनुभयो । एकाएक मुखबाट निस्कियो, ‘आहा ! कति राम्रो बनेको रहेछ ।’ तर जव अस्पताल वरपरको दृष्य देख्नुभयो, राज्यमन्त्री रावत एकाएक झोक्किनुभयो । अस्पतालको मुल गेट खुलै थियो । गेट वरपरका जस्ता पाताले बनेका औषधी पसल बन्द थिए । अस्पतालमा त ताला नै लगाइएको थियो । यो दृष्य देखेपछि राज्यमन्त्री रावतले सोध्नुभयो, ‘यो के हो ? यो अस्पताल सरकारी अनुदानको हो ?’ तर कसैले जवाफ दिएनन ।

मन्त्रीको रिसको पारो भने थामिसक्नु भएन । अति आवश्यक कक्षबाहेक सबै खुला थिए । जसबाट राज्यमन्त्री रावतलाई जानकारी भयो, अस्पतालका लागि अनुदान लिएर पनि सञ्चालन नभएको रहेछ । ‘अनुदान खाने अस्पताल नचलाउने ? मन्त्रालय गएर फाइल खोजेर तुरुन्त कारवाही हुन्छ,’ राज्यमन्त्री रावतले आफ्नो निर्णय सुनाउनु भयो । स्वास्थ्य मन्त्रालयले यो अस्पताललाई २ करोड ४ लाख ६० हजार रुपैयाँ अनुदान दिएको थियो । तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनका क्रममा जाँदा अस्पतालमा सेवा लिन कुनै बिरामी आएको नै भेटिएन । स्वास्थ्य मन्त्रालयका अनुसार सो अस्पतालमा एक महिनामा कम्तिमा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ । तर, सेवा लिन आएका बिरामीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किएका छन ।

अहिले यो अस्पताल पूर्ण रुपमा बन्द छ । भएका उपकारणहरु काम नलाग्ने भएका छन । बनेका संरचनाहरु भत्किने अवस्थामा पुगेका छन ।त्यसो त अपि अस्पतालले सेयरका नामसमेत रकम संकलन गरेको कर्मचारीहरुले जानकारी दिएका छन ।