जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार ०९:०२

प्रधानमन्त्रीले लिएको त्यो साहासिक निर्णय : विदेशमा उपचारका लागि जानैपर्ने मानसिकता बदलिदियो !


काठमाडौं, फागुन २८

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि धेरै प्रश्नको समाधान निस्कने आशमा चिकित्सकहरु रहेका छन् । देशको कार्यकारी प्रमुखले नै मिर्गौला प्रत्यारोपण (त्यो पनि दोस्रो पटक) नेपालमै गर्ने निर्णय गरेपछि चिकित्सकहरु उत्साहित भएका थिए ।

प्रत्यारोपणपनि सफलतापूवर्क सम्पन्न भएपछि चिकित्सकहरुमा थप हौसला थपिएको छ । हौसलासँगसगै जिम्मेवारी पनि थपिएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीले लिएको त्यो साहासिक निर्णयले अब उच्च अधिकारीहरु उपचारकै लागि विदेश जानुपर्छ भन्ने मानसिकता बदलिदिने आशमा चिकित्सकहरु रहेका छन् । उहाको उपचारमा संलग्न चिकित्सकहरूले सफल मिर्गौला प्रत्यारोपण गरेपछि सुनाएको अनुभव यस्तो छ ।

डा. दिव्या सिंह शाह (प्रधानमन्त्रीका निजी चिकित्सक)

प्रधानमन्त्रीज्यूको पहिलोपटक प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाडेपछि केही महिना डाइलासिस सुरु गरियो । तर उहाँलाई मैले सोही समयदेखि नै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएकी थिएँ । मिर्गौलाको डाइलासिसमा भन्दा प्रत्यारोपणमा बिरामीको स्वास्थ्य राम्रो हुन्छ ।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा कतिको सुधार आउँछ भने पहिला प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरियो । परीक्षणपछिको स्वास्थ्य रिपोर्ट राम्रो हुने देखियो । दाता खोज्न सुरु गरियो । करिब ६ दाता मिर्गौला दिन तयार हुनुभएको थियो । उहाँहरूको मिर्गौला र स्वास्थ्य परीक्षण पनि गरियो । जुन हामीले करिब ४ महिनादेखि दाताहरूको मिर्गौला परीक्षण गर्ने काम गरेका थियौं । तर सबै परीक्षण गर्दा दानपछि कुनै समस्या नदेखिने भएपछि समीक्षा संग्रौलाको मिर्गौला प्रत्यारोपण गर्न सकिने देखियो । उहाँलाई तयारी रहन भनियो । प्रधानमन्त्रीको एक महिनाअघि त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेका थियौं । उहाँको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भयो । अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ । केही दिनमा डिस्चार्जको तयारी पनि गरेका छौं ।

डा. उत्तमकुमार शर्मा (त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख)

देशका प्रधानमन्त्री यस त्रिवि शिक्षण अस्पतालाई विश्वास गरेर उपचारका लागि आउने भनेको सुन्दा खुसी लागेको थियो । अझ उहाँ उपचार गर्न आउनु भनेको हाम्रो टिमका लागि चुनौती र अवसर दुवै थियो । चुनौती पनि यो अर्थमा थियो कि देशका प्रधानमन्त्री लामो समयपछि नेपालमै ठूलो शल्यक्रिया गर्न लाग्नुभएको छ । तर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेभन्दा हामीलाई अलिकति मनोवैज्ञानिक तनाव पनि भएको थियो । तनाव भयो भन्ने यस अर्थमा थिएन कि हामी फेरि तयार थिएनौं भन्ने होइन ।

अहिले प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल भयो । हाम्रो देशमा पनि राम्रा सक्षम डाक्टरहरू छन् भन्ने सबैलाई थाहा भएको छ । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नुभयो अब विदेश जाने परिपाटी रोकिन्छजस्तो लाग्छ ।

डा. प्रेम ज्ञवाली (त्रिवि शिक्षण अस्पताल युरोलोजी विभाग प्रमुख)

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्ने सुन्दा खुसीसँगै चुनौतीसमेत थपिएको अनुभव गरेको थिए । भोलि के होला कसो होला भनेर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने अघिल्लो रातभर निदाउन सकिनँ । रातभर मनमा कुरा खेलिरहेका थिए । २१ गते बुधबार बिहान अस्पताल आए । बिहान करिब १० बजे प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्ने भनेर अप्रेसन थिएटरमा लगियो ।

त्यहाँ अन्य सामान्य मानिसलाई भन्दा र प्रधानमन्त्रीको उपचारमा केही फरक थिएन । मिर्गौला दान गर्ने समीक्षाजी र प्रधानमन्त्रीज्यूको शल्यक्रिया एकैपटक सुरु गरिएको थियो । युरोलोजी तथा मिर्गौला विभागबाट सात सर्जन खटिएका थियौं । करिब ३ बजे उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलपूर्वक गरिसकेका थियौं ।

वैज्ञानिक तथ्यांकअनुसार मिर्गौला दान गर्ने र दान नगर्ने मानिसको तुलनात्मक जीवनशैली केही फरक आउँदैन । मिर्गौला दान गर्नेले समय–समयमा मिर्गौला जाँच गर्नुपर्छ । नेपालकै अस्पताल र नेपालकै चिकित्सक छान्नुभयो जुन हामीप्रतिको एक विश्वास पनि थियो । देशैभरका मानिसमा त्रिवि शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुँदो रहेछ भनेर जानकारी पनि भयो । अब अंग प्रत्यारोपण गर्न विदेश जाने परिपाटी केही रोकिन्छ भन्ने लागेको छ ।

डा. सुवास आचार्य (त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर युनिट प्रमुख)

प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण यही त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी रहनुहोला भन्ने अस्पताल प्रशासनबाट खबर आयो । करिब ४ दिनअघि हामी सक्रिय रूपमा तयारीमा जुटेका थियौं । आफूले आईसीयू, कर्मचारीलगायतको व्यवस्थापन गर्नुपर्ने थियो । देशका प्रधानमन्त्री उपचार गर्न आउँदा खुसी लागेको थियो । तर, अर्को कतै बिग्रेला कि भन्ने डर भने थियो । प्रत्यारोपण सफल भयो खुसी बढेको छ भने अझै पनि हामी सक्रिय रूपमा लागिरहेका छौं ।

कविता देवकोटा (त्रिवि शिक्षण अस्पतालकी नर्सिङ प्रमुख)

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्न आउदै हुनुहुन्छ भने सुनेपछि हामी तयारी अवस्थामा थियौं । हामी नर्सहरू प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कसरी हुन्छ, सफल गराउन लागेका थियौं । अप्रेसन थिएटर र आईसीयूमा संक्रमण हुने डर थियो । हामी सबै नर्स एकदमै जिम्मेवारी भएर लागेका थियौं । कसरी हुन्छ संक्रमणहरूबाट जोगाउनु थियो । सबै युनिटका नर्सिङ दिदी–बहिनीहरू खटिनुभएको थियो । जसले एउटा गतिलो नतिजा हात पारेर यसरी बोल्न सकेका छौं ।