काठमाडौं, फागुन ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गर्नुभएको छ । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पको ह्वाइटहाउसस्थित ओभल अफिसमा भएको भेटघाटमा दुर्वै जनाले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कारको अभिवादन गर्नुभएको हो ।
विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेपछि दुई राष्ट्रका कार्यकारी प्रमुखले नमस्कार साटासाट गर्नुभएको हो । यसो गर्दा कोरोना भाइरस सर्ने जोखिम कम हुने स्वास्थ्य अधिकारीहरुले जनाएका छन । त्यही सुझावलाई मानेर दुई देशका प्रमुख नेताले ह्वाइट हाउसमा नमस्कारबाटै अभिवादन साटासाट गर्नुभएको हो ।
सेन्ट प्याट्रिक्स डेको एक दिनअघि आयरल्यान्डका सरकार प्रमुख अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न जाने परम्परा रहेको छ । सोही परम्परा अनुसार आयरल्याण्डका प्रधानमन्त्री ह्वाइट हाउस पुग्नुभएको हो । ‘हामीले आज हात मिलाएनौं, हामीले एकअर्कालाई हेर्यौं र अब के गर्ने भनेर भन्यौं । त्यो एक खालको अनौठो भावना थियो,’ एकअर्कामा नमस्कारको अभिवादन साटासाटको अनुभुतिबारे राष्ट्रपति ट्रम्पले भन्नुभयो । उहाँले नमस्कार गर्ने चलन भारत भ्रमणबाट सिकेको बताउनु भयो ।
‘म केही समयअघि मात्रै भारत भ्रमणबाट फर्केको छु, मैले त्यहाँ कसैसँग हात मिलाएको थिईंन र त्यसो गर्नु सजिलो पनि थियो किनकी त्यहाँ त्यस्तै चलन छ,’ ट्रम्पको भनाई थियो । भारत भ्रमणको क्रममा ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाएको तस्विरबाहेक अन्य हात मिलाएको दृष्य देखिएको थिएन । अमेरिकामा कोरोनाभाइरस संक्रमित बिरामीको संख्या १३ सय पुगेको छ । सुरूदेखि नै कोरोना भाइरसले केही गर्न सक्दैन भन्दै आएका ट्रम्पले पछिल्लो समय भने आफ्ना केही कार्यक्रम रद्द गर्नुभएको छ । सतर्कताकै लागि हात मिलाउन बन्द गरी नमस्ते अभियानसमेत चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्