जनता टाइम्स

२ चैत्र २०७६, आईतवार ०८:०८

कोरोना भाइरसबाट जोगिन आज सार्क राष्ट्रका नेताबीच भिडिओ कन्फरेन्स, यस्तो छ नेपालको तयारी


काठमाडौं, चैत २ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले आज छलफल गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र सरकार प्रमुखबीच आज साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुन लागेको हो ।

उक्त भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनहुनेछ । भिडिओ कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावलगायतका विषयमा धारणा राख्नुहुनेछ ।

सार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले अस्पतालबाटै उहाँको प्रस्तावको स्वागत गर्नुभएको छ। यसले कुनै मुद्दामा दक्षिण एसियाका मुलुकहरू मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ । प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार अस्पतालबाट निवास फर्किनुभएको थिया । प्रधानमन्त्री ओलीलाई उक्त भिडिओ कन्फरेन्समा सहभागी हुन चिकित्सकहरूले अनुमति दिएका छन्।