जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १५:५३

प्रधानमन्त्री ओलीको पेटबाट निकालियो स्टेन्ट : चिकित्सकले दिए यस्तो काम नगर्न सुझाव


काठमाडौं, चैत २

‘फलोअप’का लागि त्रिवि शिक्षण अस्पताल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहनुभएका उहाँ डिस्चार्ज भएको तेस्रो दिन स्वास्थ्य परीक्षणका लागि साढे १० बजे अस्पताल पुग्नु भएको थियो । अस्पतालले आज मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गरेको हो ।

अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट झिकिएको जानकारी दिनुभएको हो । ‘उहाँको प्यारामिटरहरू सामान्य छन्, तर धेरै लामो धपेडी गर्न हुँदैन, प्रधानमन्त्रीज्यू धेरै लामा मिटिङ गर्नुभएन भनेको थिएँ उहाँ त मुस्कुराउनु मात्र भयो,’ उहाँले भन्नुभयो । बिहान साढे १० बजेतिर अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किसक्नुभएको छ ।

यसअघि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किनुभएको थियो । अहिले केहीबेरमा ५:१५ बजे दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा साझा रणनीति बनाउनेबारे भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ।