जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १८:३१

सार्क भिडियो सम्मेलन : कोरोनाविरुद्ध लड्न विशेष सजगता अपनाएको प्रधानमन्त्री ओलीको भनाई


काठमाडौं, चैत २

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले कोरोनाविरुद्ध लड्‍‍न विशेष सजगता अपनाएको बताउनु भएको छ । उहाले कोरोना भाइरसविरुद्ध लड्‍न महत्त्वपूर्ण र सामयिक निर्णय लिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद पनि दिनुभयो ।

विश्व नोभेल कोरोना भाइरस अर्थात् कोभिड(१९ ले आक्रान्त भइरहेका बेला दक्षिण एसिया सहयोग संगठन (सार्क) नेताहरुले यसविरुद्धको साझा रणनीति बनाउन गरिएको भिडियो सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारले कोरोनाविरुद्ध लड्‍‍न विशेष सजगता अपनाएको जानकारी गराउनु भएको हो । ‘नेपालमा एकजना बाहिरबाट आएका व्यक्तिमा कोरोनाको आशंका गरिएको थियो । तर, जाँचका क्रममा उनलाई कोरोना नेगेटिभ पुष्टि गरिएको थियो । नेपालमा संघ, प्रदेश र स्थानीय सरकारले कोरोनाको रोकथामका लागि पूर्वसावधानी अपनाएका छौं’, उहाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको उच्च जोखिमबारे सचेत रहेको बताउदै भन्नुभयो, ‘हामीले राष्ट्रिय र सरकारकातर्फबाट विभिन्‍न संघसंस्था र सम्बन्धित निकायको सहकार्यमा विभिन्‍न रणनीतिहरु अपनाएका छौं ।’ त्यसैगरी प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको, अन–अराइभल भिसामा रोक लगाइएको, सेल्फ क्‍वारेन्टाइनमा बस्‍न नागरिकलाई आग्रह गरिएको, तेस्रो मुलुकबाट आउने नागरिकलाई जमिनको बाटो प्रयोग रोक लगाइएकोलगायतका सरकारले कोरोना विरुद्ध चालेका कदमहरुको जानकारी गराउनु भयो ।

अस्वस्थताका बाबजुद भिडियो सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीसहित अन्य प्रतिनिधिहरुलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेकोमा धन्यवाद दिनुभयो ।