जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १२:१६

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, यस्तो छ बिश्वमा पछिल्लो २४ घण्टाको कोरोनाको मृत्युदर


काठमाडौं, चैत ३ । उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । इटालीका सञ्चारमाध्यमले जनाएअनुसार मेयर भ्यालोटीको कोरोना संक्रमणकै कारण शुक्रबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उहाँको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन । चेने कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा पर्दछ । यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ । इटालीपछि बढी प्रभावित रहेको इरानमा आइतबार थप ११३ जनाको मृत्यु भएको छ भने थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । आज बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।

युरोपेली मुलुक स्पेन र फ्रान्समा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ९६ जनाको मृत्यु भएको छ भने फ्रान्समा ३६ जनाको मृत्यु भएको छ। स्पेनमा थप एक हजार ४ सय ५४ जनामा संक्रमण देखिँदा फ्रान्समा थप ९ सय २४ जनामा संक्रमण देखिएको छ । आजबार बिहानसम्म स्पेनमा २९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ हजार ८ सयय ४५ पुगेको छ । त्यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय २३ पुगेको छ ।

यसैगरी जर्मनीमा आइतबार मात्रै थप एक हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । जर्मनीमा आज बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ । आज बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन ।