जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १८:४०

बिमानस्थलमा एनआरएनले गरे फेरि लफडा


काठमाडौं, चैत ३ । नेपालमा आएका गैर आवासीय नेपालीहरुले कोरोना भाइरसको रोकथामका लागि सरकारले चालेको कदमको बिरोधमा बिमानस्थलमा फेरि लफडा गरेका छन । सरकारको निर्णयअनुसार आज बिभिन्न देशबाट आएका गैर आवासीय नेपाली र बिदेशी नागरिकलाई अध्यागमनले फिर्ता पठाएपछि एनआरएनएका सदस्यहरुले भने लफडा गरेका हुन ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपायको अवलम्वन गरेको छ । नेपालमा कोरोना भित्रन नदिनका लागि सरकारले अध्यागमनसँग सम्बन्धित केही नियम परिवर्तन गरको हो । अध्यागमनका एक अधिकारीले जनताटाइम्सलाई दिएको जानकारी अनुसार परिवर्तन भएको नियम पालना नगर्नेमा एनआरएनएका नेता तथा सदस्य रहेका छन् । नयाँ नीतिको पालना नगर्ने ३५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले आज सम्बन्धित देशमै फिर्ता पठाएको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यका अनुसार आज परिवर्तन भएको अध्यागमन नीतिको पालना नगर्ने ३५ जनालाई फिर्ता पठाइएको हो । यसरी फिर्ता हुनेहरुमा केही एनआरएनएका एनसिसीका पदाधिकारीसमेत रहेका छन । अध्यागमन कार्यालयका एक अधिकृतले अध्यागमन नियमका विषयमा पटक पटक एनआरएनएमा आवद्धहरुले लफडा गर्ने गरेका छन । अष्ट्रेलियाबाट आएका एक जना एनआरएनले अहिले पनि कर्मचारीलाई दुव्र्यवहारको प्रयास गरेका थिए । तर उनलाई फिर्ता पठाइएको छ ।

आज दिउँसोसम्म फ्रान्सबाट ६, चीनबाट ५, बेलायतबाट ५, जापानबाट ४, नेदरल्याण्ड्सबाट ३, इटलीबाट २, इजरायलबाट २, चेक रिपब्लिकबाट २, हङकङबाट १, अमेरिकाबाट १, अफगानिस्तानबाट १, मलेसियाबाट १ र अष्टे«लियाबाट १ जनालाई अध्यागमनले फिर्ता पठाएको छ । यसअघि एनआरएनएको अधिवेशनका क्रममा एनआरएनएका प्रतिनिधिले अध्यागमन डेस्क तोडफोड गरेका थिए भने तत्कालीन अध्यक्ष भवन भट्टले अत्यधिक रक्सी सेवन गरेर लफडा गरेका कारण विमानस्थलबाट फिर्ता हुनु परेको थियो ।

कोरोना भाइरसको प्रकोप बिश्वभर फैलिएपछि सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि निश्चित मापदण्ड बनाएको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्नेलाई विमानस्थलबाटै फिर्ता पठाउन सुरु भएको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएको छैन ।

कोरोना भित्रन नदिनकै लागि सरकारले विदेशी नागरिकलाई स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा स्वाब रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था पनि गरिएको छ ।