जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १६:३१

कोरोना रोक्न सरकारले गर्यो १५ बुँदे निर्णय : विद्यालय र कलेज चैत मसान्तसम्म बन्द (निर्णय सूचीसहित)


काठमाडौं, चैत ५ । विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ । कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेको छ । सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो ।

समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो । चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो । बैठकले सिनेमा हल पनि बन्द गर्ने निर्णय गरेको छ ।