जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १८:५१

कोरोना भाइरसको त्रास : एसईई स्थगित


काठमाडौं, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिनुभएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले चैत मसान्तसम्म कलेज र बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा एसईई स्थगित भएको हो । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर संभावित जोखिम नमोल्ने भन्दै परीक्षा स्थगित गरिएको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले बिषयको गंभिरतालाई ध्यानमा राखी एसईई स्थगित गरिएको बताउनु भयो । ‘एसइइको हकमा परिस्थितिको गम्भिरता हेरेर भोलीदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौं,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उहाँका अनुसार अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने छ ।

बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ भने २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।