जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १०:३१

ज्वरो निरन्तर एक सय डिग्रीभन्दा बढि आए अस्पताल जानुहोस्


काठमाडौं, चैत ६

कोरोना भाइरसका कारण अहिले विश्वमै एकप्रकारको माहोल सिर्जना भएको छ । मानिसहरु बढि आत्तिने गरेका छन् । ज्वरो, सामान्य रुघाखोकी लाग्दैमा मानिसहरु कोरोना होकी भन्ने त्रासमा देखिने गरेका छन् ।

अहिले मौसम परिवर्तनसँगै मौसमी फ्लुको जोखिम बढ्ने बेला हो । विगतमा कोरोना नरहेको समयमा पनि यो बेला ज्वरो र रुघाखोकीका विरामी देखिन्थ्ये । त्यसैले यो बेला यस्ता समस्या देखिने समय हो । त्यसो भए कोरोना लाग्यो भनेर कसरी शंका गर्ने त ? मुख्य प्रश्न पनि यही हो । चिकित्सकका अनुसार यसका केही विधि छन् ।

मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।

मौसमी फ्लु हुँदा दुई\चार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ । फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार\पाँच दिनको फरकमा सर्छ ।

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?

– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
– श्वास लिँदा धेरै बल लगाउनुपर्ने
– छातीमा गाह्रो हुने

कस्तो अवस्थामा अस्पताल जाने ?

– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन
– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा
– ज्वरो निरन्तर आएमा
– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा
– मधुमेह, मिर्गौला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
– सकभर स्वस्थ्य रहने
– प्रशस्त मात्रामा उमालेको पानी पिउने
– धेरै मात्रामा झोल पर्दाथ पिउने

बिहानदेखि बेलुकासम्म के–के गर्ने ?

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– शौचालय जाँदा र बाहिरबाट घर फर्केपछि २० सेकेण्ड मिचीमिची हात धुने
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने