जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ०६:३५

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको घोषणा : कोरोनाका बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ


काठमाडौं, चैत ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने प्रष्ट पार्नुभएको छ । प्रेस काउन्सिल नेपाल र स्वास्थ्य मन्त्रालयले आयोजना गरेको सचेतना कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबै बिरामीको उपचारको जिम्मा सरकारले लिने प्रष्ट पार्नुभएको हो । मन्त्री ढकालले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने बताउनु भयो ।

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताउनुभयो। निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कूटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने उहाँको भनाई छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले काभिड–१९ विरुद्धको लडाईंमा सञ्चारमाध्यमलाई सत्य सूचना मात्रै प्रवाह गर्न आग्रह गर्नुभयो । विश्वव्यापी कोरोनाको सन्त्रास बढिरहेको हुँदा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले काभिड–१९ संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रम आयोजना गरिएको हो ।