जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १३:१०

कोरोनाको त्रासले मापसे जाँच पनि स्थगित


काठमाडौं, चैत ७

ट्राफिक प्रहरीले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर मापसे जाँच स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कोरोनाको त्रासले मापसे जाँच रोकिएको बताउनुभएको छ । यद्यपि, अत्यावश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं र, आफन्तको जिम्मा लगाउँछौं ।’ ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।