जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १४:३३

कोरोना रोक्न लक डाउनको अन्तिम गृहकार्यमा सरकार : प्रधानमन्त्री भेटेपछि संयोजक पोखरेलले बोलाए बैठक


काठमाडौं, चैत ७ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय अबलम्बन गरेको सरकार अव लक डाउनको निश्कर्षतिर पुगेको छ । कोरोनाको बिषयमा थप जोखिम नमोल्ने नीतिका साथ सरकार यस दिशातर्फ उन्मुख भएको हो ।

मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय संयोजन समितिको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलगत्तै पोखरेलले बैठक बोलाउनु भएको हो । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज प्रधानमन्त्री ओलीसँग भेट गरी हालसम्मको अवस्थाको बिषयमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन र लिनुपर्ने सवै कदम चाल्न संयोजक पोखरेललाई निर्देशन दिनुभएको छ ।

कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहनुभएका उपप्रधानमन्त्री पोखरेलले थप निर्णय लिन आजै साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउनु भएको हो । उहाँले यसअघि नै आवश्यक परे मुलुक लक डाउनमा जाने संकेत गरिसक्नु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राती देशबासीको नाममा संबोधन गर्दै केही साता जनता कफ्यू लगाउन निर्देशन दिएपछि कोरोनाप्रति नेपाल पनि कठोर बनेको हो । छिमेकी मुलुकबाट कोरोना भित्रन सक्ने भन्दै सरकार लक डाउनतर्फ अघि बढेको स्रोतले जनाएको छ ।

यसअघि समितिको बुधबारको बैठकले एसईई स्थगनलगायतका महत्वपूर्ण निर्णय लिएको थियो । यसबीचमा संयोजक पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहनु भएको थियो । विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको स्रोतले जनाएको छ । त्यस्तै सर्वसाधारणको भिडभाड र मास मोबिलाइजेशन रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ ।

सरकारी स्रोतका अनुसार जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको छ । उच्चस्तरीय बैठकपछि सरकारले थप कदम उठाउने र मुलुकलाई लक डाउनतर्फ लगेर सुरक्षित राख्नेबारे छलफल तीब्र बनेको छ । उपप्रम पोखरेल यही काममा लाग्नुभएको छ । कोरोना नियन्त्रणको नेतृत्वमा अहिलेसम्म नचुक्नु भएका उपप्रधानमन्त्री पोखरेलले कुनै त्रुटीहुन नदिने गरी काम अघि बढाउनु भएको छ । सोही योजना सुनेपछि प्रधानमन्त्री ओलीले समेत आजै देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको हो ।