जनता टाइम्स

८ चैत्र २०७६, शनिबार ०९:४१

कोरोनाबाट बिश्वभर ११३९७ को मृत्यु : ईटलीमा एकैदिन ६२७ को मृत्यु, १३ डाक्टरको पनि गयो ज्यान


काठमाडौं, चैत ८ । कोरोनाको उदगम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा फैलिएको छ । शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको मृत्यु भएको छ । एकै दिन धेरैको मृत्यु भएको यो अहिलेसम्मकै ठूलो आँकडा हो । ईटलीमा अहिलेसम्म ४ हजार ३२ को मृत्यु भएको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन ।

इटलीको लोम्बार्डीको उत्तरी क्षेत्र कोरोना भाईरसद्वारा अत्यधिक प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्रै २ हजार ५ सय ४९ जनाको मृत्यु भैसकेको छ । ईटालीमा अहिले पार्कमा घुम्ने, ब्यायाम गर्ने, मोटरसाईकल र साईकल चलाउनलगायतका थुप्रै प्रतिबन्धहरु लगाईएका छन । ईटालीमा मुत्यु हुनेहरुको औसत आयु ७९ दशमलव ५ रहेको छ ।

त्यहाँका सिभिल प्रोटेक्सन प्रमुख एंजेलो बेरेलीले स्थानीय सञ्चार माध्यमसंग कुरा गर्दै भने, ‘आगामी एक सातासम्म मृत्यु हुनेहरुको गति घट्ने अवस्था देखिंदैन ।’ कोरोनाका कारण ईटालीमा हालसम्म १३ जना डाक्टरहरुको मृत्यु भएको छ भने २ हजार ६ सय २९ जना डाक्टर संक्रमित भएका छन ।

त्यस्तै ब्रिटेनमा पनि एकै दिन अर्थात शुक्रबार ३३ जनाको मृत्यु भएको छ । बेलायत सरकारले गएरातीदेखि देशभर लकडाउनको घोषणा गर्दै कसैलाई पनि अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आदेश दिएको छ । त्यस्तै चीनमा ३ हजार २ सय ४८ को मृत्यु भएको छ भने ८० हजार ९ सय ६७ जना संक्रमित छन ।

त्यसैगरी स्पेनमा १ हजार ९३ जनाको मृत्यु भएको छ भने २१ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ईरानमा १ हजार ४ सय ३३ को मृत्यु भएको छ भने १९ हजार ६ सय ४४ को मृत्यु भएको छ । विश्वका १ सय ८५ मुलुकमा फैलिएको कोरोना भाईरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९७ पुगेको छ । कोरोनाका कारण हालसम्म २ लाख ७५ हजार ७ सय ४१ जना संक्रमित भएका छन भने ९१ हजार ९ सय १२ जना निको भैसकेका छन ।