काठमाडौं, चैत ८ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न चैत मसान्तसम्म नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गरेको छ । काठमाडौं उपत्यकाका ५० शैय्या र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवा बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।
देशै भरका अस्पतालबाट दिइने नियमित आकस्मिक सेवा संचालनमै रहे पनि बिरामीलाई थप जोखिमबाट बचाउन र अनावश्यक भीडभाड कम गर्न स्वास्थ्य मन्त्रालयले विस्तारित स्वास्थ्य सेवा दुई साताका लागि रोक्न आज निर्देशन दिएको हो । ‘नियमित चेकअपमा आउने बिरामी तथा पछि गर्दा हुने शल्यक्रिया दुई हप्तासम्म रोक्न अनुरोध गर्दछौं,’ स्वास्थ्य मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै भनेको छ । यस्तै अस्पतालले ज्वरोको लक्षण भएका बिरामीलाई लक्षित गरी ज्वरो जचाउने क्लिनिक संचालनमा ल्याउने भएको छ ।
कोरोनाको सम्भावित संक्रमण देखिएमा सोही अस्पतालमा उक्त बिरामीलाई आइओलेसनमा राखी नमूना संकलन गर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । कोरोनामाथि बिजय प्राप्तीका लागि आवश्यक सवै सतर्कता अपनाउँदै सरकारले यस्तो नीति लिएको हो ।
प्रतिक्रिया दिनुहोस्