जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १८:१५

कोरोनाबाट नर्भिकमा मान्छे मरेको भन्दै अफवाह फैलाउने बिवेक नेविसंघ नेता र मिडिया सञ्चालक


काठमाडौं, चैत ८ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको नर्भिक अस्पतालमा केही मान्छेको मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने विवेक थापा मगर नेविसंघका नेता रहेको तथ्य खुलेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले आज भक्तपुरबाट पक्राउ गरेलगत्तै बिवेक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेबिसंघको नेता रहेको तथ्य बाहिर आएको हो ।

रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेकले नेपाली जनतालाई त्रसित बनाउने योजनाका साथ यस्तो अडियो सार्वजनक गरेको पाइएको प्रहरीले जनाएको छ । गएराती भाइरल बनाइएको सो अडियोको आधारमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले आज दिउसो पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । बिवेकले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको र पत्रकारले समाचारसमेत नलेख्ने भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए ।

उनले झोर्ले न्युज भन्ने अनलाइनमार्फत उक्त अडियो अफवाह सामाजिक सञ्जालमा पोस्ट गरेका हुन । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघको नेता रहेको उनको फेसबुक पेजबाट प्रष्ट भएको छ । उनले आफूलाइ झोर्ले न्युजको सिइओको रूपमा समेत चिनाएका छन । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताउनु भएको छ ।

प्रहरीका अनुसार बिवेकले आफ्नो अनलाइनको प्रचार गराउन जानीबुझी यस्तो फेक समाचार बनाएको पाइएको छ । बिवेक जस्तै कुपात्रहरुले अफवाह फैलाउन सक्ने आशंकामा प्रहरीले सामाजिक सञ्जालदेखि सवैतिर निगरानी बढाएको छ । प्रहरीले यस्ता अफवाहका पछि लागेर आतंकित नबन्न र यस्ता समाचार शेयर वा आफन्तलाई पठाउने काम समेत नगर्न सुझाव दिएको छ ।