जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १८:३८

कोरोना रोक्न सरकार गंभीर : अनुमतिबेगर स्वदेश फर्किएका ६२ नेपालीलाई लगियो खरिपाटी क्वारेन्टाइन


काठमाडौं, चैत ८ । अनुमतिबिना विभिन्न मुलुकबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई बिमानस्थलबाट सोझै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका चार महिलासहित ६२ नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई बिमानस्थलबाट सोझै खरिपार्टी क्वारेन्टाइन लगिएको हो । उनीहरु जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमानमार्फत नेपाल आएका हुन् ।

अनुमतिबिना नेपाल आएकाहरु अब १४ दिन क्वारेन्टाइनमै बस्नुपर्ने ब्यवस्था मिलाइएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धबिपरित बिनाअनुमति आएका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो ।