जनता टाइम्स

८ चैत्र २०७६, शनिबार २२:२८

कोरोना भित्रन नदिन कडा एक्शन : प्रतिबन्धित देशको नागरिक ल्याउने बिमानको ढोका खोल्न दिइएन


काठमाडौं, चैत ८ । सरकारले कोरोना भाइरस भित्रन नदिन कडा कदम चालेको छ । हालसम्म नेपालमा नदेखिएको कोरोना रोकथामका लागि सरकारले आज राती एउटा बिमानलाई यात्रु ओलर्न नदिई फिर्ता जान भनिएको छ । प्रतिबिन्धत मुलुक नेदरल्याण्डका नागरिक समेत लिएर आएपछि सिल्क एयरको विमान सिंगापुर फिर्ता जान भनिएको हो ।

सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमानका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन रोक लगाइएको छ । सो हवाईजहाज आज राति करिब साढे ८ बजे अवतरण गरेको थियो ।

तर, सो हवाईजहाजबाट यात्रुहरु साढे दुई घण्टादेखि ओर्लिन पाएका छैनन् । सो हवाई जहाजमा एक जना नेपाली मूलका विदेशी नागरिक पनि छन्, उनी नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाएको देशका भएकाले हवाई जहाजमा रहेका सबै यात्रुहरुलाई बाहिर निस्कन नदिइएको हो ।

‘अवतरण नगर्न भन्दाभन्दै इन्धन सकिएको भन्दै पाइलटले अवतरण गराइएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । बिमानमा ९० जना नेपालीसमेत रहेका छन ।

कोरोना भाइरसको उच्च संक्रमण रहेको मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ । तर, विमानमा डच नागरिक आएको सूचनापछि काठमाडौं आइपुगेका नेपालीसहित सवै यात्रु सिंगापुर नै फिर्ता पठाउने निर्णय भएको विमानस्थल स्रोतले जनाएको छ । आइतबारबाट भने अन्तर्राष्ट्रिय उडान नै बन्द गर्ने निर्णय सरकारले गरिसकेको छ ।