जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १२:३३

फ्रान्सबाट कतारहुँदै आएकी नेपाली युवतीमा देखियो कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि


काठमाडौं, चैत १०

फ्रान्स हुँदै नेपाल आएका नेपाली नागरिकमा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएका १९ वर्षिय युवतिलाई कोभिड–१९ पोजेटिभ भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयले आज आकस्मिक पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो कुराको पुष्टि गर्नुभयो । चैत ४ गते नेपाल आएका उनिको रिपोर्टमा हिजो कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हिजो जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखिएपछि उनको टेकुमा आइसोलेसनमा राखिएको छ । साथै उनका परिवार र सम्पर्कमा रहेका सबैलाई बोलाएर आइसोलेसनमा राखिएको मन्त्री ढकालले जानकारी दिनुभयो । यद्यपी उनको परिचय भने गोप्य राखिएको छ ।

उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको मन्त्रीले बताउनु भयो । फ्रान्समा अध्ययनका लागि गएकी १९ वर्षकी ती युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी चैत ४ गते कतारबाट नेपाल आएका थिइन् । यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।