जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १९:२२

कोरोना कोषमा राष्ट्रपतिले दिनुभयो २ महिनाको तलब


काठमाडौं, चैत १०

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ महिनाको तलब दिनु भएको छ । सरकारले आइतवार ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको हो । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।