काठमाडौं, चैत ११
कोरोना भाइरसको संकट फैलिन नदिन नेपालले हरप्रयत्न गरिरहेको छ । लकडाउनसम्मको अवस्थामा पुगिसकेको नेपालले दुवै छिमेकी मुलुकसँग अहिले स्वास्थ्य सामाग्री सहयोग माग गरिरहेको छ । विश्वमा नै अहिले केही स्वास्थ्य सामाग्रीको संकट छ ।
त्यसै क्रममा नेपालले चीनसँग १९ वटा र भारतसँग १६ थरीका सामाग्री माग गरेको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पटक जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतवार राति ट्विट गरेर चीन नेपालको साथमै रहेको बताउनु भयो । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिनुभयो ।
‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्