जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १०:०७

कोरोना तिव्र रुपमा फैलियो, मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउ : विश्व स्वास्थ्य संगठन


काठमाडौं, चैत ११

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिनु भएको छ । टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताउनु भएको छ ।

पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयोमा दुई लाख पुग्न अर्को ११ दिन लाग्यो । तर त्यसको चार दिनमै तीन लाख पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीको सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

नियन्त्रण मात्र अपर्याप्त

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ । प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि निम्त्याइएको छ । रोगका सम्भावित उपचार उक्त बैठकको अजेन्डामा छ ।

यसैबीच, विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन् । अमेरिकाको केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गरिदिने बताएको छ । जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८०० अर्ब डलर खर्च गर्ने बताएको छ । विश्व ब्याङ्कले विकासोन्मुख देशहरूलाई कोरोनाभाइरस प्रकोपको मार बेहोर्न १५० अर्ब डलर सहायता दिने जनाएको छ ।

युद्ध रोक्न आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिवले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वभरि जारी द्वन्द्वमा युद्धविराम गर्न आह्वान गरेका छन् । एन्टोनियो गुटेरजले कोभिड–१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताउनु भएको छ । उहाले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको बताउनु भयो । उहाले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गर्नुभयो । (बिबिसी)