जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १०:३७

कोरोना उपचार कोषमा नेकपा सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने


काठमाडौँ, चैत ११

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना भाइरस(कोभिड–१९)को उपचार कोषमा १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएको छ । सरकारले ५० करोड राखेर स्थापना गरेको कोषमा नेकपाका सांसदले रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।

सरकारले कोरोना भाइरसको नेपालमा संक्रमण भएमा खर्च जुटाउनका लागि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ स्थापना गरेको छ । उक्त कोषमा नेकपाका मन्त्री बाहेकका सांसदले १५ को पारिश्रमिक जम्मा गर्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

सो कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको तलब दिने यसअघि नै निर्णय भईसकेको छ । नेम्वाङका अनुसार नेकपाका २०० सांसदले १५ दिनको रकम उक्त कोषमा जम्मा गर्नुहुनेछ । जसको रकम ६४ लाख ३९ हजार हुने उहाले जानकारी दिनुभयो ।

उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैंक, सिहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ जम्मा हुने नेकपाले जनाएको छ । सरकारले स्थापना गरेको कोषमा प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायतले आफ्नो एक–एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।