जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १६:२३

कतार एयरवेजमा आएका मध्ये १२५ जनाको पहिचान, सबैको स्वास्थ्य परिक्षण गरिदै


काठमाडौं, चैत ११

नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ ।

प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ । चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन् । त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ ।

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताउनु भयो । उहाले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाउनु भयो । उहाले भन्नुभयो, ‘कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ । बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ ।’

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो । नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताउनु भयो । ‘कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आउनु भएको छ । उनीहरूलाईको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ’, देवकोटाले भन्नुभयो ।