जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १०:३२

न्यूयोर्कका नेपालीमा बढन थाल्यो कोरोना संक्रमण : कोरानाबाट ज्यान गुमाएका लिम्बुका छोरा पनि सिकिस्त


न्युयोर्क, चैत १२ । गएराती न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनु भएका नेपाली ब्यवसायी अनिल लिम्बुका छोरा पनि सिकिस्त बिरामी भएका छन् । २२ बर्षका जेठा छोरा सिकिस्त बिरामी भएपछि आजै एम्बुलेन्समार्फत एल्महस्र्ट अस्पताल भर्ना गरिएको छ । लिम्बुका छोरालाई दिउसोदेखि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

परिवारका अन्य सदस्यहरु भने घरमै आराम गरिरहेका छन् । जेठा छोरालाई केहीदिन देखि नै संक्रमणको लक्षण देखिएपनि आज सिकिस्त भएपछि अस्पतालमा भर्ना गरिएको हो । सुरुमा ज्वरो आउने, खोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएकोमा आज स्थीति बिग्रदै गएपछि अस्पतालमा भर्ना गरिएको हो ।

पछिल्लो समय न्यूयोर्कमा नेपाली समुदायमा कोरोनाको संक्रमण बढन थालेको देखिएको छ । अर्का एकजना ६० बर्ष काटेका नेपालीमा पनि कोरोना संक्रमणको लक्षण देखिएपछि केही दिनदेखि एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको छ । तर उनको कोरोना परीक्षणको रिपोर्ट आए नआएको जानकारी भने प्राप्त भएको छैन । यस्तै न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सन हाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए । त्यहाँ गएर चेक गर्दा अक्सिनको मात्रा कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । ४७ बर्षका ती नेपालमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । न्यूयोर्कबाट प्रकाशन हुने खसोखास डटकमले जनाएअनुसार उनका श्रीमतिलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । डाक्टरहरुले घरमै बस्न र आराम गर्न सुझाव दिएको जनाएका छन् ।