जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १७:१०

चैत ६ गते कतारबाट आएका थिए कोरोना संक्रमण देखिएका युवक, होटलमा थियो बसाई


काठमाडौं, चैत १२ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको र उनी चैत ६ गते कतारबाट नेपाल आएको जानकारी दिनुभएको हो ।

मन्त्री ढकालका अनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए । स्वास्थ्य असहज भएपछि मंगलबार उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । मन्त्री ढकालका अनुसार कोरोना परीक्षणका लागि त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो, जसको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण देखिएका ती ब्यक्ति बसेको होटल र सम्भावित संक्रमित व्यक्तिहरुलाई पहिचान गर्ने काम भइरहेको जानकारी पनि स्वास्थ्यमन्त्री ढकालले दिनुभएको छ । उनी आएको बिमानमा रहेका अन्य यात्रुको पनि खोजी भइरहेको छ ।