जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार ०९:१५

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, केहीबेरमा डिस्चार्ज गरिने


काठमाडौं, चैत १४

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको चालमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

उहालाई विहिवार राति नै अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ’, थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’

प्रधानमन्त्रीकी निजी चिकित्सक शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उहालाई राति नै अस्पताल लगिएको थियो । डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उहाको स्वास्थ्य अवस्था सामान्य छ । ‘उहाँको स्वास्थ्य अहिले ठीक छ । राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं । उहाँको यो पुरानै समस्या हो । कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो’, उहाले भन्नुभयो, ‘अहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं ।’

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहा प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो ।