जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १२:१८

कोरोना भाइरसको नयाँ संक्रमित भेटेपछि चीनले गर्यो लकडाउन, विदेशीलाई आउन प्रतिवन्ध


बेइजिङ, चैत १४

चीनमा सबै विदेशी नागरिकलाई प्रवेश गर्न नदिने अस्थायी प्रतिबन्ध लगाइएको छ । प्रवेशाज्ञा वा बसोबासको अनुमति भएकाहरू पनि शनिवारबाट चीन जान पाउने छैनन् ।

चीनमा तीन दिनयता पहिलो पटक स्वदेशमै भएको नयाँ सङ्क्रमण फेला परेको थियो । सबैजसो विदेशमै सङ्क्रमित भएकाहरू भेटिएपछि चीनले नयाँ नियम लागु गरेको हो । बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए ।

चीनको विदेश मन्त्रालयले ‘कोभिड–१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ । उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालकदलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुनेछ ।

आपत्‌कालीन मानवीय सहायतासँग सम्बन्धित वा त्यस्तै क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई अपवाद मानिने बताइएको छ । तर चीनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकिसकेको र विभिन्न सहरहरूमा अवतरणमा रोक लगाइसकिएको सन्दर्भमा पछिल्लो निर्णय नाटकीय जस्तो देखिन्छ ।

कोरोनाभाइरस पहिलो पटक चीनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामाभन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा थोरै छ । चीनको न्याश्नल हेल्थ कमिशनले त्यहाँ ८१,३४० जनामा सङ्क्रमण पुष्टि भएको र ३,२९२ जनाको ज्यान गएको शुक्रवार जनाएको छ । पुष्टि भएकामध्ये ५६५ जना विदेशमा सङ्क्रमित भएर गएकाहरू छन् ।

जसमा विदेशी वा विदेशबाट फर्किएका चिनियाँ नागरिक पर्छन् । प्रकोप सुरु भएको हुबे प्रान्तमा बिहीवार नयाँ सङ्क्रमित वा शङ्कास्पद बिरामी भेटिएनन् । प्रान्तको राजधानी वुहानमा जनवरी महिनामा सुरु भएको लकडाउन ८ अप्रिलबाट खुकुलो बनाइने बताइएको छ । (बिबिसी)