काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। महाराजगन्जस्थित मनमोहन सेन्टरको आकस्मिक उपचार कक्षमा करिब २० घण्टा उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको हो । अस्पतालबाट डिस्चार्जपश्चात प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ : ३० पछि मुटुको धड्कन बढ्ने समस्या भएको कारण अस्पतालमा भर्ना गरिएको थियो।
‘करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ’, प्रेस सल्लाहकार थापाले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । फागुन ३० गते अस्पतालबाट डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहनुभएको छ । आरामसँगै उहाँले सरकारको कामलाई पनि अघि बढाउनुभएको छ ।
यसअघि प्रधानमन्त्रीले भारतको अपोलो अस्पतालमा २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो । बीचमा स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा स्वास्थ्य उपचारका लागि ओली सिंगापुर जानुभएको थियो । यसपटक भने मिर्गाैलाको नभई मुटुको धडकन बढेकोले अस्पताल भर्ना गरिएको उहाँको निजि चिकित्सक प्राडा दिब्यासिंह शाहले जनाउनु भएको छ । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई धपेडी नगर्न सुझाएका छन ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ बिहीबार राती ११ : ३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ । उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभयो ।
यसैबीच प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा धन्यवाद ज्ञापन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्