जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १९:४५

नेपालमा भेटिए चौथो कोरोना संक्रमित


काठमाडौं, चैत १४ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को चौथो संक्रमित ब्यक्ति भेटिएका छन । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका एक नेपाली पुरूषमा आज कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले घटनाको पुष्टि गर्नुभएको छ । मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको सार्वजनिक गर्नुभएको हो । दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालभा भर्ना भएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताउनु भयो । काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १७ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ४ ४ जना गरेर १७ जनाको आइसोलेसनमा उपचार भइरहेको हो ।

टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ। कोराना पुष्टि भएका दुई जनाको काठमाडौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसोलेसनमा राखेर उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कोरोना परीक्षण गरिएका आठ सय २ जनामध्ये चार जनामा कोरोना पुष्टि भएको हो। एक जना निको भैसकेका छन्। तीन जनाको उपचार भइरहेको छ ।