जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १०:४३

कोरोनाबाट बच्न सुरक्षित आवास गृह तथा सुधार केन्द्रले अपनाउनै पर्ने प्रावधान


इन्द्रराज भट्टराई

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रकोप र यसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको तयारी र योजनालाई ध्यानमा राखी नेपालमा संचालित महिला, बालबालिका तथा जेष्ठ नागरिक, आपङ्गता भएका ब्यक्तिहरु जस्ताआवास गृह तथा सुधार केन्द्रका संचालक, कर्मचारी र त्यस्ता आवास गृह तथा सुधार केन्द्रहरुमा रहेका ब्यक्तिहरुको सुरक्षाका लागि अनिवार्य रुपमा अपनाउनु पर्ने प्रावधानहरु :

आवास गृहमा संलग्न कर्मचारीले पहिला आफू सुरक्षित भई आवास गृहतथा सुधार केन्दमा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिनुपर्ने छ ।

कर्मचारी

– हरेक कर्मचारीले आफ्नो आवास तथा कार्यालय बाहिर रहँदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने ।

– अत्यावश्यक कामबाहेक आवास तथा कार्यालयबाट वाहिर नजाने र जानै परे अनिवार्य रुपमा माक्सको प्रयोग गरेर मात्र जाने । सकेसम्म भिडभाडहरुमा नजाने ।

– बाहिरबाट आएपछि अनिवार्य रुपमा साबुनपानीले राम्ररी हात मुख धोएपछि मात्र अन्य कुराहरु छुने ।

– रुघाखोकी लागेमा कर्मचारीहरु र आवास गृहमा रहेका व्यक्तिहरुबाट अलि टाढा रहने, माक्स प्रयोग गर्ने ।

– रुघाखोकी लागेका वा अस्वस्थ्य देखिएका व्यक्तिहरुको नजिक नजाने ।

– पर्याप्त मात्रमा उमालेको पानी पिउने र पोषणयुक्त खाना खाने ।

आवास गृह तथा सुधार केन्द्र

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुलाई अत्यावश्यक काम बाहेक अन्य कामको लागि बाहिर नपठाउने र पठाउनु परे अनिवार्य रुपमा माक्सको प्रयोग गर्न लगाउने ।

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुको स्वस्थ्यमा विशेष ध्यानदिने ।

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुको स्वस्थ्य स्थितिको अभिलेख राख्ने जस्तै हरेक दिनबिहान बेलुका ज्वरो नाप्ने, बेलाबेला रक्तचाप तथा तौल जाँच गर्ने आदि ।

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुको नियमित रुपमा स्वस्थ्य परीक्षण गराउने।

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुलाई रुघाखोकी लागेमा तुरुन्तै स्वस्थ्य केन्द्र तथा अस्पतालबाट स्वस्थ्य परीक्षण गराउने ।

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुको खानपिनमा विशेष ध्यानदिने र पर्याप्त मात्रमा उमालेको पानी पिउन लगाउने ।

– कार्यालय तथाआवास गृह तथा सुधार केन्द्रमा आगन्तुकहरुलाई आउन निरुत्साही गर्ने र आउनै पर्ने भएमा निजहरुलाई साबुनपानीले हातमुख धुन लगाएर वा सेनिटाइजरको प्रयोग गराएर मात्र प्रवेश गराउने (निश्चित दुरीमा राख्ने) ।

– बाहिरबाट आएका कर्मचारी र आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुबाट टाढा रहने।

– आवास गृह तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरुमा कुनै स्वास्थ्य सम्बन्धि वा अन्यकुनै समस्या देखिएमा तुरुन्तै सोको समधानको लागि कदमचाल्ने र छिटो माध्यमद्धारा सम्बन्धित आधिकारकि व्यक्तिलाई जानकारी गराउने ।

– कम्तीमा एक दुई महिना पुग्ने गरी खाद्य र अन्य आवश्यक कुराहरुको भण्डारण गर्ने जस्तै चामल, इन्धन, दाल, नुन, तेल, चिनीआदि ।

– रुघाखोकी लागेमा, टाउको दुखेमा, शरीरको तापक्रम बढेमा र श्वास र्फेन गाह्रो भएमा अरुबाट टाढा रही आवास गृह तथा सुधार केन्द्रमा प्राथामिक उपचार बक्स र आइसोलेशन कक्ष अनिवार्य रुपमा व्यवस्था गर्ने तथा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने ।

(एक दशकदेखि मानव बेचबिखन र लैङ्गिक हिंसाको विरुद्धमा काम गर्दै आएका भट्टराई आफन्त नेपालका निर्देशक हुन । आफन्त नेपाल नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समितिको सदस्य पनि छ।)