जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १६:५५

एउटै फ्लाइटमा थिए कोरोना संक्रमित बाग्लुङ र काठमाडौंकी युवती


काठमाडौं, चैत १५

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका दुवै युवति एउटै फ्लाइटबाट काठमाडौं आएको खुलेको छ । फ्रान्सबाट कतार हुदै आएकी युवति र बेल्जियमबाट दोहा हुदै आएकी बाग्लुङकी युवति एउटै फ्लाइटबाट काठमाडौं आएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी युवती चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् । यसअघि चैत १० गते कोरोना भाइरसको संक्रमित भेटिएकी युवति पनि सोही उडानबाट काठमाडौं आएकी थिइन् ।

दुवै जना एउटै उडानबाट आएकाले सोही विमानबाट भाइरस सरेको हुन सक्ने आशंका गरिएको छ । सो विमानमा १८५ यात्रु रहेको र सबैको खोजीकार्य चलिरहेको प्रहरीले जानकारी दिएको छ । हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ । टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता देवकोटाले चौथो केशको फ्‍लाइटको विवरण पनि भनेका छन् । ती संक्रमित २० मार्चमा विस्तारा एयरको दिल्लीबाट युकेको ११५ फ्लाइटबाट काठमाडौं आएको खुलेको छ । ती संक्रमित अहिले धनगढीमा उपचाररत छन् ।
यसैबीच, नेपाल उद्योग परिसंघले करिब ७५ हजार सर्जिकल मास्क र १०० वटा पिपिइ सहयोग गरेको छ । एकीकृत व्यापार कम्पनीले ४० वटा पीपीई सहयोग गरेको मन्त्रालयले जनाएको छ ।